काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
शुक्रबार बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि थाइल्याण्डको बैङ्ककमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा संस्कृति, धर्म र जनता–जनता सम्बन्धमा आधारित भारत र नेपालबीचको पुरानो सम्बन्धलाई सुदृढ पार्ने बिषयमा कुराकानी भएको थियो । त्यस्तै व्यापार, सीमापार सम्पर्क, ऊर्जा साझेदारी र विकास परियोजनाहरू सहित द्विपक्षीय सहयोग सम्बन्धी विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ ।
त्यसअघि शुक्रबार नै प्रधानमन्त्री ओलीले बिम्स्टेकको छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा सङ्कट सृजना गरेको उल्लेख गर्दै उनले हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको बताए ।
यसैबीच बिम्स्टेकको छैटौँ शिखर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छ बुँदे प्रस्ताव पारित गरेको छ ।