काठमाडौँ– राष्ट्रिय जनमोर्चाले चैत्र २४ गतेदेखि सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि भन्दै चैत्र २४ गतेदेखि सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको हो ।
मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएकाले त्यसबिरुद्ध संघर्ष गरेर नै मुलुकको राष्ट्रियता रक्षा गर्न सकिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताए । उनले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि चैत्र २४ गतेदेखि ३० गतेसम्म जनपरिचालन सहितको आन्दोलन गर्ने जानकारी दिए ।
उनले राजावादीहरुकोे एकात्मक तथा सामन्ती केन्द्रीकृत राज्य कायम गर्ने र राजतन्त्रको पुनस्र्थापना गर्ने उदेश्य जनविरोधी समेत जिकिर गरे ।
अध्यक्ष केसीले संघीयताका कारण गणतन्त्र तथा राष्ट्रियतामाथि समेत गम्भीर रुपले नकारात्मक असर पुगिरहेकाले गणतन्त्रको रक्षाका लागि संघीयातालाई खारेज गर्नुपर्ने आवश्यकता देखिएको धारणा राखे ।