काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चैत्र १५ गतेको घटनामा राज्यले आफ्नो पार्टी कार्यालयको उचित सुरक्षा गर्न नसकेको बताए ।
आइतबार काठमाठौंमा नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी)को बागमती प्रदेश भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेस र एमालेको पार्टी कार्यालयमा प्रयाप्त सुरक्षाकर्मी तैनाथ गरेपनि आफ्नो पार्टी कार्यालयलाई भने राज्यले सुरक्षा गर्न नसकेकाले चैत्र १५ गते आगजनी र तोडफोड भएको बताएका हुन् ।
‘सरकारले कांग्रेस, एमाले, माओवादीको अफिसमा ट्रकसहित सुरक्षाको व्यवस्था गर्यो । तर, हाम्रो पार्टी अफिसनजिकै सुरूदेखि चर्कोचर्को भाषण गरेको सुन्दासुन्दै मान्छे (आन्दोलनकारी) लाई पुलको छेउबाट यता गए हुन्थ्यो भन्ने चाहना राखेर छाडियो’, उनको जिकिर थियो ।
आफ्नो कार्यालयमा तोडफोड गर्दै कम्प्युटर, मोबाइल, पंखा साथै फाइल समेत चोरी भएको भन्दै उनले क्षतिपूर्ति माग गरेका छन् ।
उनले चैत्र १५ गतेको घटनामा जोडिएका सवैले जिम्मेवारी लिनुपर्ने र दोषीलाई सरकारले कारवाही गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई उचित क्षतिपूर्ति दिन माग गरे ।
अराजक व्यक्ति बोकेर राजतन्त्रलाई पुनर्वहाली गर्ने उद्देश्य पुरा हुन नसक्ने उनले बताए ।