काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको भन्दै चासो व्यक्त गरेका छन् ।


ADVERTISEMENT


नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूले महरको सचिवालयमा ध्यानाकर्षण गराएपछि भएको छलफलमा नेता महरले सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि जनाए।


ADVERTISEMENT

# # #


“देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्, तर सरकारले आवश्यक संवेदनशीलता देखाएको छैन,” महरले भने।

उनले शिक्षकहरूको थुप्रै जायज मागहरू मन्त्रिपरिषद्को बैठकमार्फतै सम्बोधन गर्न सकिने उल्लेख गर्दै, छिटो निर्णय प्रक्रियामा लैजान सरकारलाई आग्रह गरे। “सरकारले मागहरूको वर्गीकरण गरेर व्यवहारिक तालिका निर्माण गरी अगाडि बढ्नुपर्छ,” उनले जोड दिए।

शिक्षकहरूले शैक्षिक आमहडताल घोषणा गरिसकेको अवस्थामा, शिक्षकहरूको आत्मसम्मान जोगाउँदै वार्तामार्फत सहमति खोजिनु पर्ने महरको धारणा छ। “देशको वर्तमान परिस्थिति नाजुक छ, प्रधानमन्त्री स्वयंले थप सक्रिय भूमिका खेल्न जरुरी छ,” महरले भने।

उनले आन्दोलनरत शिक्षक समुदायले पनि जिम्मेवारीपूर्वक संवाद र समन्वयको माध्यमबाट समस्याको समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

यसअघि शिक्षामन्त्रीसँग पटक–पटक वार्ता भएपनि ठोस निष्कर्ष ननिस्किएको भन्दै शिक्षक संगठनहरूले सरकारको उदासीनता प्रति गम्भीर आपत्ति जनाउँदै आएका छन्।