काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।
बिहीबार सिंहदरबारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिसंगको छलफलका क्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई संघीय संसदको अवको अधिवेशनमा प्रस्तुत गर्ने गरि तयारी भइरहेको जानकारी दिए ।
उनले सकेसम्म अवको अधिवेशनबाटै वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कानून पारित गरिने जिकिर गरे । बैदेशिक रोजगार ऐनका लागि कार्यदलले छलफल सुरु गरेको अवस्थामा समयसापेक्ष सुधार गर्दै अघि बढ्ने उनले जनाए।
मन्त्री भण्डारीले बैदेशीक रोजगार व्यवसायलाई मर्यादीत बनाउने जिम्मेवारी स्वयं व्यवसायीहरुको भएको उल्लेख गरे ।
वैदेशिक रोजगार व्यवसायीले इमान्दारीताका साथ व्यवसाय गरे सरकारलाई पनि सहजीकरण गर्न सहज हुने उहाको भनाइ छ ।