काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति वैठकले आन्दोलन र पार्टी सङ्गठनलाई सँगसँगै लैजाने र पूर्वघोषित कार्यक्रम अनुसार वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले वैंशाख ९ गते ७७ जिल्लामा विरोध सभा र धर्नाका साथै प्रदर्शन गर्ने निर्णय गरेको छ भने उपत्यकामा सबै वडा तहसम्म सवै नेताहरू पुग्दै सङ्गठनलाई मजबुत र आन्दोलन केन्द्रीत गर्ने निर्णय गरिएको लिङदेनले बताए ।

त्यस्तै बैठकले चैत्र १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका रवीन्द्र मिश्र र धवलशमशेर राणालगायतलाई तत्काल रिहाई गर्न माग गरेको छ । आफ्ना नेताको रिहाईका लागि कानूनी तथा राजनीतिक दुवै लडाईलाई शसक्त रुपमा लैजाने निर्णय भएको लिङदेनले बताए । उनले पार्टीका सवै आन्दोलनका कार्यक्रमलाई व्यवस्थीति गर्न विशेष कमिटी बनाउने निर्णय भएको जानकारी दिए ।

उनले शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको धारणा राखे । निषेधित क्षेत्रमा प्रदर्शन गरेर आफुहरु सामूहिक रुपमा थुनामा जान तयार भएको उनले बताए ।