काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले प्रदर्शनबाट पार्टी पछि नहट्ने बताएका छन् ।
आइतबार प्रदर्शनका क्रममा उनले बबरमहल क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । निषेधित क्षेत्रमा पुग्दै नपुगि प्रहरीले धरपकड गर्न खोजेको उनको आरोप छ ।
उनले पोखरा विमानस्थलको भ्रष्टाचार प्रकरण बाहिर ल्याएका कारण आफ्ना अध्यक्षलाई प्रहरीले पक्राउ गरेको तर्क गरे । राष्ट्र र जनताको लागि जेलमात्रै नभइ गोली थाप्न पनि तयार रहेको उनको भनाइ छ ।
सिंहले राप्रपाले उठाएका एजेण्डा स्थापीत नभएसम्म आन्दोलन निरन्तर हुने जनाए । राप्रपाले पार्टीका शीर्ष नेताका साथै राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य लगाएतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, तीनकुने घटनाको छानविन, आफ्ना नेताको रिहाई लगाएतको माग राख्दै राप्रपाले आइतबार काठमाडौंको बिजुलीबजार–बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले सरकारविरोधी चर्का नारा लगाएका थिए । प्रदर्शनकारीहरु बानेश्वरतर्फ अघि बढ्दा प्रहरीले निषेधित क्षेत्रमा रोकेको थियो । पार्टीका शीर्ष नेताहरुले बानेश्वरको निषेधीत क्षेत्र तोड्ने कार्यक्रम रहेपछि उनीहरुलाई प्रहरीले सिंहदरबारभित्रै नियन्त्रणमा लिएको थियो ।