काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा हालै कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको मृत्युप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिएको छ। भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त जानकारी दिएका हुन्। ‘हामीले द्विपक्षीय सम्बन्धमा भएका पछिल्ला विकासबारे पनि छलफल गरेका छौं’, जयशंकरले लेखेका छन्।
राजदूत शर्माले पनि भेटका क्रममा नेपाल सरकारका तर्फबाट घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै भारत सरकार र जनतासँग ऐक्यबद्धता प्रकट गरिएको जानकारी दिए।
‘नेपालका प्रधानमन्त्री, विदेशमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूले प्रकट गरेको समवेदना र ऐक्यबद्धताबारे जानकारी गराएँ’, शर्माले बताए।
भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए। ‘हालै भएका उच्चस्तरीय भेटघाटहरूमा उठेका मुद्दाहरूमा समेत विस्तृत रूपमा छलफल भयो’, राजदूत शर्माले उल्लेख गरे।