काठमाडौं – नेपाली कांग्रेस थाहा नगरपालिका काठमाडौं सम्पर्क समितिद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री इन्द्रबहादुर बानियाँले आम्दानीभन्दा बढी खर्चले समस्या निम्त्याउने बताएका छन्।
उनले अनुशासित जीवनशैली अपनाउँदै खर्च कटौती र आम्दानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै भने, ‘व्यक्ति अनुशासनमा हिँड्न थालेपछि राज्य पनि अनुशासनमा हिँड्न बाध्य हुन्छ।’
हालका दिनमा राजतन्त्रको पक्षमा बोल्ने प्रवृत्ति देखिएकोप्रति टिप्पणी गर्दै बानियाँले इतिहास सम्झँदै भने, ‘२०२६ सालमा राजा वीरेन्द्रको विवाहका लागि नेपाल सरकारको कुल बजेट ७ अर्बमा १ अर्ब रुपैयाँ खर्च गरिएको थियो। त्यतिबेला कर्मचारीको तलब न्यून हुँदा पनि राजाले मासिक १० लाख रुपैयाँ लिने अवस्था थियो। अनि समानता कसरी आयो ?’
उनले सत्य, तथ्य र न्यायमा आधारित भएर नीति तथा कानुन निर्माण हुनुपर्नेमा पनि जोड दिए।
कार्यक्रममा बानियाँले जनताप्रति उत्तरदायी शासन प्रणालीको सुदृढीकरण र समावेशी लोकतन्त्रको रक्षा कांग्रेसको दायित्व रहेको उल्लेख गर्दै अनुशासन, पारदर्शिता र उत्तरदायित्वको अभ्यास सबैले गर्नुपर्ने धारणा व्यक्त गरे।


























































