काठमाडौँ– नेकपा एमालेका सांसद योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नगर्न प्रचण्डलाई सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भट्टराईले बिपक्षी दलका नेता प्रचण्डले वर्तमान सरकारलाई अप्राकृतिक, स्वार्थ समूह र बिचौलिया भन्दै पटक–पटक टिप्पणी गर्ने गरेको भन्दै सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नगर्न सुझाव दिएका हुन् ।
‘विपक्षी दलका नेताले पटक–पटक सार्वजनिक भाषणमा पनि र यहाँ पनि भन्नुहुन्छ, यो सरकार अप्राकृतिक छ । स्वार्थ, विचौलिया छ । मेरो यति मात्र भनाई के छ भने, सिसाको घरमा बसेर अर्काको घरमा ढुङ्गा हान्ने मूर्खता नहोस्’, उनले भने ।
धारा ७६ (२) अनुसार बनेको प्रचण्डको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने कुन संविधानको व्याख्या हो ? भन्दै उनले प्रश्न गरे । उनले पराम्परागत प्रणालीलाई केहि हस्तक्षेप गरेर सरकारले अहिले उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको बताऐ ।
भट्टराईले सरकार गठन हुँदा भएको सहमति, सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम, संसद र संसदीय समितिहरुले दिएको निर्देशनको जगमा अहिलेको नीति तथा कार्यक्रम आएको भन्दै स्वागत गरे ।.
उनले स्रोत सुनिश्चित नहुँदै हजारौ आयोजना घोषणा गर्ने र अलपत्र पार्ने कामलाई अन्त्य गर्दै अहिले प्राथमिकिरणका आधारमा आयोजना छनौट गर्ने काम गरेको उल्लेख गरे ।