हेटौंडा–  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर बोलेरो गाडी बेपत्ता भएको पाँच दिनपछि खानी तथा भूगर्भ विभागको टोलीले घटनास्थलमा औपचारिक अध्ययन सुरु गरेको छ।


ADVERTISEMENT


शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी चुच्चे खोलानजिक सडकमा गुड्दागुड्दै जमिनमा भाँसिएर हराएको थियो। गाडीका धनी हरिराम राईका अनुसार, गाडी एकाएक सडकसँगै जमिनमा गढ्दै गइरहेको दृश्य देखिएको थियो, जुन अहिले एक ठूलो खाल्डोमा परिणत भई धमिलो पानीले भरिएको छ।


ADVERTISEMENT

# # #


गाडी भासिएको क्षेत्रको अनुसन्धान गर्न खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा चार सदस्यीय प्राविधिक टोली आइतबार हेटौंडा पुगेको हो। टोलीले प्रारम्भिक रूपमा माटोको सतह संरचना, भूमिगत जलस्रोत, र चुम्बकीय क्षेत्रबारे अध्ययन गरिरहेको छ। टोलीले प्रोटोन म्याग्नेटोमिटर उपकरणको प्रयोग गरी जमिनमुनिको चुम्बकीय पदार्थ, विशेष गरी फलामजन्य संरचना र माटोको तहबारे अध्ययन गरिरहेको अधिकारीले जानकारी दिए।

उनका अनुसार घटनास्थल दलदलीय प्रकृतिको भएकोले अध्ययनका लागि सिधै केन्द्र भागमा पुग्न कठिन भइरहेको छ। पोखरी बनेको स्थानको छेउबाटै अनुसन्धान गर्नुपरेको छ। अध्ययनको निष्कर्षलाई इन्भारमेन्टल एन्ड इन्जिनियरिङ जियोलोजिकल म्याप अफ हेटौंडा एरियासँग मिलाएर विश्लेषण गरिने र त्यसकै आधारमा अन्तिम प्रतिवेदन तयार पारिनेछ।

स्थानीयबासीका अनुसार गाडी बेपत्ता भएको स्थान दुई–तीन दशकअघिसम्म धापयुक्त क्षेत्र थियो, जहाँ गोरु जोत्नेदेखि मान्छेसम्म हराउने घटनाहरू पनि सुनिने गरिन्थ्यो। २०७० को दशकपछि मात्र त्यहाँको पानी सुक्दै गएको र माटो सुक्खा भएपछि सडक निर्माण भएको जनाइएको छ।

वरिपरिका क्षेत्रहरूमा दर्जनभन्दा बढी माछा पोखरी छन् र पोखरी निर्माणका लागि गरिएका बोरिङ कार्यहरूले समेत जमिन कमजोर बनाई सडक भासिन सक्ने अनुमान गरिएको छ। गाडी बेपत्ता भएको दुई दिनपछि मात्र हेटौंडा उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसेर भूगर्भविद् टोलीमार्फत अनुसन्धान सुरु गर्ने निर्णय गरिएको थियो।

गाडी अझैसम्म फेला परेको छैन भने खोजी कार्यसँगै वैज्ञानिक अध्ययन पनि जारी रहेको छ। यो रहस्यमय घटनाले स्थानीय मात्रै नभइ अन्यको ध्यान खिचेको छ।