काठमाडौँ — भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणको विरोधस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सोमबार प्रतिनिधिसभा बैठकमा ‘निलो रिबन’ लगाएर प्रवेश गरेका छन्।


ADVERTISEMENT


गृहमन्त्री रमेश लेखकको राजीनामा र घटनाबारे उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले विगत केही दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ। सोही सन्दर्भलाई अझै स्पष्ट र सशक्त बनाउन सांसदहरू आज विशेष पहिरनसहित संसद् भवन पुगेका हुन्।


ADVERTISEMENT

# # #


बैठकअघि सांसदहरूले संसद् भवनअगाडि उभिएर सामूहिक तस्बिर खिचाएका थिए। कार्यवाहक अध्यक्ष डिपी अर्यालले उक्त तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्, “आन्दोलन जारी छ।”

पार्टीका प्रवक्ता मनिष झाले ‘निलो रिबन’ प्रयोगको कारण स्पष्ट पार्दै भने, “मानव तस्करीविरुद्धको वैश्विक अभियानमा ‘निलो रिबन’ प्रतीकको रूपमा लिइन्छ, त्यसैले हामीले पनि त्यसलाई आत्मसात् गरेर विरोध जनाएका हौं।”

रास्वपाले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनलाई थप सशक्त बनाउने संकेत दिएको छ।

संसदभित्र र बाहिर दवाबमूलक अभियान जारी राख्ने रणनीतिमा पार्टी अडिग रहेको जनाइएको छ।