नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका  सचिवालय सदस्य निरेशलाल सिंहसंग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


तपाई युवा संघको सचिवालय सदस्य हुनुहुन्छ । अहिलेका अवस्थामा युवा संघ नेपालको गतिविधि के कसरी अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


स्थापनाकालमा युवा संघको जुन किसिमको आर्कषण थियो । त्यो केशव स्थापितको पालासम्म रहिरहेको थियो । तर पछिल्लो अवस्थामा महेश बस्नेतको कारणले गर्दा यसको प्रभावकारिता हराइरहेको सन्दर्भमा अहिले निरन्तर नेतृत्व परिवर्तन भएकाले युवा संघका लागि आफ्नो उर्जाशिल समय खर्च गरेका ती युवाको भविष्य अहिले डामाडोल भएको अवस्था छ । पटक पटक महाअधिवेशनको मिति तय गरिसक्दा पनि स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र संघको निर्वाचनका कारण स्थगित भएको अवस्था छ । फेरि पनि हामी महाअधिवेशनमा जानका लागि पहल गरिरहेका छौँ । महाधिवेशन भएन भने युवाहरुको यत्रो संगठन भोलि गाह्रो अप्ठ्यारोमा पर्ने देखिराखेकोले महाधिवेशनमा जानुको विकल्प छैन ।

तर अब नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको कुरा पनि अगाडि बढिसकेको छ । फेरि माओवादीको पनि युवा संगठन वाईसीएल छ । त्यससंग पनि तपाईहरुले एकता त गर्नै पर्ला नि ?

हो । पार्टी एकताको कुरा गर्दा वाईसीएलसंग पनि एकता हुन्छ । उर्जाशिल युवाहरुलाई ध्यानमा राख्दै पार्टी एकतापछि महाधिवेशनमार्फत यसलाई टुंगोमा पुगाउनुपर्छ ।

महाधिवेशनको प्रक्रिया कसरी अगाडि बढिरहेको छ ?

हामीले अध्यक्षलाई पटक पटक भनिराखेका छौँ । उहाँ अहिले प्रदेशसभाको सदस्य भइसक्नु भएको छ । नेतृत्व हस्तान्तरणका लागि उहाँ पनि चिन्तित पक्कै हुनुभएको होला । पार्टी तथा इन्चार्जसंग पनि उहाँले सल्लाह गरिराख्नु भएको छ होला । अहिलेको अवस्थामा कमजोरी के हो भने केन्द्रिय कमिटीको बैठक भइराखेको छैन । केन्द्रिय कमिटीको बैठक अब तत्काल बोलाउनु पर्छ ।  महाधिवेशनको प्रक्रिया त्यसपछि सुरु हुन्छ ।

भनेपछि केन्द्रिय कमिटीको बैठक बोलाएर महाधिवेशनको मिती तोक्ने हो ?

युवासंघको राष्ट्रिय महाधिवेशन वैशाखको अन्तिम सातामा गर्ने सोच बनाएका थियौँ । तर पार्टीको स्थायी कमिटीको निर्णयपश्चात सबै संगठनको राष्ट्रिय महाधिवेशन रोकिएको कारण अब राष्ट्रिय महाधिवेशन गर्न सक्दैनौँ । अब वाइसीएल र युवा संघ नेपाल एकता हुन्छ । त्यो एकताको नेतृत्व पनि अहिलेलाई राजीव पहारीले गर्नुहुन्छ । त्यसपछि हुने राष्ट्रिय महाधिवेशन पनि राजीव पहारीको नेतृत्वमा सम्पन्न हुन्छ ।

युवा संघ नेपाललाई महाधिवेशनपछि नयाँ उचाईँमा लैजानका लागि अब कस्तो नेतृत्वको आवश्यक छ ?

नेृत्वका लागि धेरै साथीहरु आकांक्षी हुनुहुन्छ । वाइसीएलसंग पनि सम्भवतः एकता हुन्छ होला । यत्रा युवाहरुको नेतृत्वदायी संगठन लागि रहँदा युवाहरुको शिक्षा, स्वास्थ्य, रोजगारका कुराहरुका लागि आवाज उठाएर सम्बन्धित निकायको ध्यानाकर्षण गर्न सक्ने अबको नेतृत्व हुनुपर्छ । नेतृत्व तहमा आइसकेपछि आमरुपमा केही परिवर्तनको महशुस हुनेगरी काम गर्नुपर्छ । हिजो युवासंघमा अध्यक्ष राजीव पहारी भइराख्दाखेरी युवाका लागि विभिन्न काम गर्ने प्रयास गर्नु भयो । अबको कुरा स्थायित्व र विकास हो । राष्ट्रिय स्वाधिनताको अर्थतन्त्र विकास गर्दै समाजवादतिर जानका लागि अब हुने महाधिवेशनबाट आउने नेतृत्वले काम गर्नुपर्छ ।

विकास र समृद्धिको कुरा गर्दैगर्दा त्यसमा युवाहरुको सहभागिता गराउनका लागि अब कसरी जानुपर्छ ?

मैँले अघि पनि भनेँ रोजगारका कुराहरुदेखि लिएर शिक्षा, स्वास्थ्यका कुराहरु पनि छन् । हिजोको जस्तो राजनीतिक आन्दोलनमा ढुंगा बोकेर वा बोकाएर पनि हुँदैन । नेपालमा रहेका युवाहरुलाई सिर्जनशिल काममा लगाएर देशको अर्थतन्त्र उकास्नका लागि पनि सोच्नुपर्छ । बढ्दो युवा पलायन रोक्नका लागि यही देशमा रोजगारका अवसरहरु सिर्जना गर्नुपर्छ । जबसम्म हामी युवा पलायन रोक्न सक्दैनौँ तबसम्म हामीले भन्ने गरेको आर्थिक समृद्धि कदापी हासिल हुन सक्दैन । युवाको सीप र क्षमतालाई प्रयोग गर्नसक्नु पर्छ । युवा परिचालन नगरी समृद्धिको पाटो सफल हुन सक्दैन । युवाहरु नै विकासका खानी हुन् । त्यस कारण विदेशिएका युवालाई नेपालमा नै रहने वातावरण बनाउनका लागि हामीले आफ्नो तर्फबाट योजनाहरु पनि बनाइराखेका छौँ ।

तपाईहरुले युवाहरुका पक्षमा काम गर्नकालागि युवा परिषद् पनि खोल्नु भएको छ । जसको काठमाडौँ जिल्ला अध्यक्ष तपाई आफु हुनुहुन्छ । तर सोचे अनुसारको काम नभएको हो ?

नभएको होइन । भइराखेको छ । मेगाप्रोजेक्टको रुपमा अहिले युवा उद्यम भन्ने कार्यक्रम छ । यसले एउटा वडाका १६ देखि ४० वर्ष उमेरका कम्तीमा ५ जना युवाहरुको समुहलाई उद्यम गर्नका लागि ऋण दिइराखेका छौँ । गत वर्ष पनि हामीले ५/६ समूहलाई ऋण उपलब्ध गराएका थियौँ । त्यसको निरीक्षण गर्दा एउटाले मात्रै काम नगरेको पाइयो । यसपाली पनि हामीले दिने योजना अघि सारेका छौ । ३०-४० वर्षमा बेरोजगार उन्मुलन नै गर्ने गरी यो योजना अघि सारेका हौँ । यसको लागि सरकारले के कस्तो सहयोग गर्छ त्यो पनि हेर्न बाँकी नै छ । त्यस्तै अन्य योजनाहरु पनि छन् जसले युवाहरुको स्तर उकास्नका लागि सघाउँछ ।

अन्य कार्यक्रमहरु के के छन् ?

अहिले हामीले व्यवसायिक प्रशिक्षणहरुदेखि युवा उद्यम कार्यक्रम तथा ट्यालेन्ट हन्टसम्मका कार्यक्रम गरिराखेका छौँ । त्यस्तै व्यवसायमा लागेर सफल भएका युवाहरुलाई पुरस्कृत गर्दै पनि आएका छौँ । युवाका लागि एक दिन भन्ने कार्यक्रम छ । सरकारीस्तरबाट पनि विभिन्न किसिमका कार्यक्रमहरु आउँछन् ।

अन्त्यमा, महाअधिवेशन नजिकिँदै छ । त्यसमा तपाईको भूमिका कुन रुपमा देख्न पाइन्छ ?

यसमा साथीहरुसंग छलफल हुन्छ । जीवनको धेरै सयम युवा संगठनका लागि खर्चिएको छु । जुन कुरा समकक्षीका साथै सबैले देखिरहेकै छन् । म भन्दा जुनियर पनि नेतृत्व तहमा पुगिसक्नुभएको छ । त्यसैले उचित मुल्याङ्कन गर्नुपर्छ जस्तो लाग्छ । जिम्मेवारी पाएको खण्डमा जुन पदमा रहेर पनि काम गर्न तयार त म छँदैछु । युवासंघलाई अगाडि बढाउनका लागि अहिलेसम्मको अनुभवले काम गर्न सक्छु जस्तो लाग्छ । त्यही अनुसार साथीहरुले कही न कही एडजस्ट गर्नुहुन्छ जस्तो लाग्छ ।