काठमाडौं–प्रतिनिधिसभामा एक सिट रहेको नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा विपक्षमा रहने भन्ने बारेमा निर्णय नभएको जनाएको छ । अपरान्ह १ बजे विश्वासको मतका लागि संसद बैठक बोलाइएको छ ।


ADVERTISEMENT


मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय पार्टीले गरिनसकेको बताए । उनले संसद बैठकअघि पार्टीले सांसदलाई यसबारेमा निर्देशन दिने बताए । नेमकिपाबाट प्रेम सुवाल सांसद छन् ।


ADVERTISEMENT

# # #


नेमकिपाले यस्ता विषयमा सधैं अन्तिम क्षणमा निर्णय गर्ने गरेको छ । पछिल्लो समय एमाले र माओवादीले वाम गठबन्धन बनाएर चुनाव लड्दा उनले यसको पनि आलोचना गरेका थिए । वाम गठबन्धनमा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चा मात्र सामेल छन् ।

विश्वासको मत दिने वा नदिनेबारे पार्टीले निर्णय नगरे पनि प्रधानमन्त्री ओलीको सन्दर्भमा तपाईंको के टिप्पणी छ ? भन्ने प्रश्नमा बिजुक्छेले भने, ‘मैले ओलीजीको बारेमा अहिले केही सोचेको छैन । आफ्नै स्वास्थ्यबारे सोचिरहेको छु । पार्टीले जे निर्णय गर्छ त्यहि हो मेरो सोचाई ।’

पार्टीले गरेको निर्णय नै आफ्नो सोचाई हुने भने पनि नेपाल मजदुर किसान पार्टी बिजुक्छेको सोचअनुसार चल्ने गर्छ । उनी स्थापनाकालदेखि निरन्तर पार्टी अध्यक्ष छन् । पार्टीमा उनको सोचको विपक्षमा अहिलेसम्म कोही बोल्ने गरेका छैनन् । शुरुमा भेरी–कर्णाली र भक्तपुरमा राम्रो संगठन रहेको नेमकिपा अब भक्तपुरको पनि भक्तपुर नगरपालिकाभित्र सीमित हुँदैछ ।

नयाँ शक्तिको नयाँ आइडिया

यसैबीच नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वास गर्ने तर अहिले विश्वासको मत भने नदिने नीति लिएको छ । अहिले प्रतिपक्षमै रहने नीति अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको सञ्चार विभाग प्रमुख विश्वदीप पाण्डेले बताए । प्रतिनिधिसभामा नयाँ शक्तिको एक सिट छ । एकमात्र सांसद तथा पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई आइतवार जाकार्ताबाट मलेसिया पुगेका छन् । उनी संसदमा उपस्थित हुने छैनन् ।