काठमाडौँ – नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयमा कार्यरत दैनिक ज्यालादारी श्रमिकहरूले मासिक तलबको माग गर्दै सोमबार कार्यालयमा धर्ना बसेका छन् ।
नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति, कोशी प्रदेशको अगुवाइमा भएको धर्नामा उनीहरुले आफूहरूलाई मासिक तलबमा रूपान्तरण गर्न माग गरेका छन् । संघर्ष समितिका कोशी प्रदेश अध्यक्ष विनोद गनगाईंका अनुसार धर्ना दुई दिनसम्म जारी रहनेछ । उनले आन्दोलन पूरा नहुञ्जेल थप संघर्षका कार्यक्रम निरन्तर चल्ने जानकारी दिए ।
२०७८ साउन ३१ गतेको प्राधिकरण सञ्चालक समितिको ९४९औं बैठकले सबै दैनिक ज्यालादारी श्रमिकलाई मासिक तलबमा रूपान्तरण गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म कार्यान्वयन नहुँदा श्रमिकहरू आन्दोलित बनेका हुन् । अहिले श्रमिकहरूले दैनिक ७३५ रुपैयाँका दरले तलब पाउँदै आएका छन् । तर संघर्ष समितिले उनीहरूलाई न्यूनतम २५,७५० रुपैयाँ मासिक तलब दिनुपर्ने माग अघि सारेको छ ।































































