काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिले वडा अधिवेशनलगायत महाधिवेशनका अन्य निर्वाचन प्रक्रियाको तयारी पूरा भएको जानकारी दिएको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कँडेलका अनुसार महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र सभापति र पालिका सभापतिसहित करिब ६ हजार ५२८ प्रतिनिधि चयन हुने अनुमान गरिएको छ। विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसमेत जोड्दा महाधिवेशन प्रतिनिधिको संख्या करिब ७ हजार पुग्न सक्ने उनले बताएका छन्।

कँडेलका अनुसार रसुवा, नुवाकोट र धादिङका केही क्षेत्रबाहेक अन्य स्थानमा वडा अधिवेशनका लागि कुनै ठूलो समस्या देखिएको छैन। उनले कांग्रेसका करिब ८ लाख ७० हजार क्रियाशील सदस्य रहेको जानकारी पनि दिएका छन्।

पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशन सम्पन्न गर्न आवश्यक प्रतिनिधि वडा, क्षेत्र र प्रदेशको निर्वाचन प्रक्रियाबाट तयार हुने भएकाले सोही आधारमा निर्वाचन प्रक्रिया अघि बढाइएको बताएका छन्।

बाढी प्रभावित धादिङमा दुई गाउँपालिकामा मात्रै केही अप्ठ्यारो अवस्था रहेको र अन्य क्षेत्रमा खासै असर नपरेको उनको भनाइ छ। नुवाकोटमा मुख्यतः वडा नम्बर २ बाहेक अन्य वडामा अधिवेशन गर्न कुनै बाधा नदेखिएको निर्वाचन समितिले जनाएको छ।