काठमाडौं- मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठलाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६’ अन्तर्गत ‘जीवन बीमा तथा वित्तीय सेवाको क्षेत्रमा उत्कृष्ट नेतृत्व’ विधामा सम्मान गरिएको छ ।
सीजन मिडियाद्वारा आयोजित एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डले स्थानीय प्रतिभा तथा नेतृत्वको विकासप्रति मेटलाइफ नेपालको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीले जनाएको छ ।
श्रेष्ठ सन् २०१७ मा मेटलाइफ नेपालको नेतृत्व सम्हाल्ने पहिलो नेपाली नागरिक बन्नुभएको थियो । उहाँको नेतृत्वमा कम्पनीले ग्राहक अनुभवलाई प्रभावकारी बनाउने, निरन्तर सिकाइ तथा विकासलाई प्रोत्साहन गर्ने र नयाँ प्रविधि तथा नवप्रवर्तनलाई अघि बढाउने विभिन्न पहल गर्दै आएको जनाएको छ ।
उनको नेतृत्वमा मेटलाइफ नेपालले ग्राहककेन्द्रित समाधान, डिजिटल नवप्रवर्तन, सञ्चालन उत्कृष्टता तथा कर्मचारी विकासमा आफ्नो ध्यान निरन्तर सुदृढ गर्दै आएको कम्पनीको भनाइ छ । साथै, नेपालमा बीमा क्षेत्रको व्यावसायिक मापदण्डलाई थप बलियो बनाउन पनि कम्पनीले विभिन्न कार्य गर्दै आएको जनाएको छ ।
सम्मानपछि श्रेष्ठले आफूलाई अत्यन्त सम्मानित महसुस भएको बताउँदै यो उपलब्धि कम्पनीका कर्मचारी, अभिकर्ता, साझेदार तथा सम्पूर्ण सरोकारवालासँग साझा गर्न चाहेको बताएका छन् ।
ग्राहकलाई थप सुरक्षित र आत्मविश्वासपूर्ण भविष्य निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपाल निरन्तर अघि बढिरहेको उल्लेख गरेका छन् ।
सीजन मिडियाद्वारा आयोजना गरिएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डले नेतृत्व, नवप्रवर्तन, सम्बन्धित क्षेत्रमा योगदान तथा व्यावसायिक उपलब्धिका आधारमा एसियाभरका विभिन्न क्षेत्रका व्यवसायी तथा पेशाकर्मीलाई सम्मान गर्दै आएको छ । यस वर्ष चीन, मलेसिया, बंगलादेश, भारत, जापान र नेपालका विभिन्न क्षेत्रका पेशाकर्मीहरू सम्मानित भएका छन् ।
मेटलाइफ विश्वका प्रमुख वित्तीय सेवा प्रदायकमध्ये एक हो। कम्पनीले जीवन बीमा, वार्षिकी, कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापनलगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ।
नेपालमा मेटलाइफले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा योजनालगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।































































