काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफु नलागेको बताएका छन् ।
बुधबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफुले अन्य दलको नेताहरुलाई भेट गरेको तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको स्पष्ट पारे । उनले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफुहरु संग त्यो संख्या नभएको उल्लेख गरे।
कोइरालाले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेपनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने बताए । नेता कोइरालाले पुर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा र्फकन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउदै संविधानले यस विषयमा नबोलेकोले संविधान संसोधन आवश्यक रहेको जिकिर गरे ।
कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संसोधनलाई प्राथमिकतामा राखेको भएपनि अहिले सम्म संविधान संसोधनका लागि कार्यदल नबनाएको गुनासो गरे । निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउदै यसमा राजनैतिक दलका शीर्ष नेताहरुले चलखेल गरिरहेको उनको आरोप छ ।
































































