काठमाडौं- जेन्जी शहीद परिवार तथा घाइते जेन्जी नेपालले जेन्जी शहीद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कान्तिशिखा धितालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
जेन्जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेटबाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै शहीद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिने गरी सांसद धितालले सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाएका हुन्। उनीहरूले धितालले दिएको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।
जेन्जी शहीद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले शहीद परिवारलाई हालसम्म कुनै प्रकारको सहयोग वा साथ नदिएको भन्दै उल्टै अपमान गर्ने अधिकार कसैलाई नभएको बताएका छन्।
उनले जेन्जी शहीद प्रथम स्मृति दिवसलाई मनोरञ्जनको कार्यक्रमसँग जोडेर राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिले जनता तथा पीडित परिवारको भावनामा चोट पुर्याउने अभिव्यक्ति दिनु दुःखद भएको बताए।
सांसद धितालको अभिव्यक्तिबारे पार्टीले गम्भीर समीक्षा गरी आफ्नो संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।
त्यस्तै, शहीद परिवार तथा घाइते समुदायको भावनामा चोट पुर्याउने अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आवश्यक कदम चाल्नुपर्ने उनीहरूले बताएका छन्। शहीद तथा घाइतेहरूको योगदानलाई दलीय राजनीतिक स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सम्मानको विषय बनाउनुपर्ने उनीहरूको जोड छ
































































