काठमाडौं- भारतले बाढी तथा पहिरोका कारण नेपालको जलविद्युत् पूर्वाधारमा क्षति पुगेपछि विद्युत् आपूर्ति सहज बनाउन नेपाललाई थप बिजुली निर्यात गर्ने भएको छ।
भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो। भारतको प्रेस सूचना ब्युरो (PIB) का अनुसार उक्त अवधिमा अधिकतम ६५४ मेगावाटसम्म विद्युत् नेपाल निर्यात गर्न अनुमति दिइएको छ।
स्वीकृतिअनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ।
नेपालमा हालै आएको बाढीले जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएपछि आन्तरिक विद्युत् उत्पादन क्षमता घटेको छ। यससँगै मुलुकमा थप विद्युत् आवश्यक भएको अवस्थामा भारतको पछिल्लो निर्णयले विद्युत् आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भारतले सन् २०२७ जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युत्को परिमाणबारे डिसेम्बर २०२६ मा पुनरावलोकन गर्ने जनाएको छ।
भारतको विद्युत् मन्त्रालयले नेपालको कठिन परिस्थितिमा विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्ने र यसबाट नेपाल–भारतबीचको दीर्घकालीन ऊर्जा सहकार्य थप मजबुत हुने बताएको छ। भारतले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई निरन्तर सुदृढ गर्ने प्रतिबद्धता समेत जनाएको छ।
































































