हेटौँडा – नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार भएको संसदीय दलको निर्वाचनमा बानियाँले बागमतीका मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई पराजित गरेका हुन् ।
नेपाली काँग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँले संसदलीय दलको निर्वाचनमा कूल २२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी लामाले केबल १४ मत प्राप्त गरे । १ भोट भने बदर भयो । बागमतीमा काँग्रेसका कूल ३७ जना सांसद रहेका छन् । जसमध्ये संसदीय दलको नेतामा निर्वाचित हुन १८ मत आवश्यक पर्छ ।
संसदीय दलको नेतामा निर्वाचित भएसँगै बानियाँको बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बाटो औपचारिक रुपमा खुला भएको छ । यस्तै दलको नेतामा जितसँगै बानियाले यसअघि लामा विरूद्धको पराजयको बदला समेत लिएका छन् । पार्टी प्रदेश सभापति हुँदाहुँदै षड्यन्त्रपूर्वक बानियाँलाई पन्छाएर लामालाई संसदीय दलको नेता बनाइएको थियो ।
यसअघि गत शुक्रबार मुख्यमन्त्री लामाविरुद्ध पार्टीमा २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मंगलबार भएको मतदानमा लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएका थिए । उनीविरुद्ध २२ मत परेको थियो भने १५ जनाले समर्थन गरेका थिए ।
































































