हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताको निर्वाचनमा पराजय व्यहोरेपछि आफू संविधान मात्रै मान्ने तर्क गरेका छन् ।
बुधबार भएको निर्वाचनमा नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग भारी मतान्तरले हारेपछि प्रतिक्रिया दिँदै लामाले आफूलाई मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको नेता भइराख्न नपर्ने जिकिर गरेका हुन् ।
मुख्यमन्त्री लामाले संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै आधार नरहेको जिकिर गरे । उनले आफू संविधानको भावना अनुसार अघि बढ्ने बताए । आफू नेतृत्वको सरकारबिरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने उनको तर्क छ ।
उनले भने, ‘राजीनामा दिनुपर्ने कुनै आधार नै छैन । हामी त संविधान अनुसार चल्ने हो ।’
यसअघि गत शुक्रबार मुख्यमन्त्री लामाविरुद्ध पार्टीमा २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मंगलबार भएको मतदानमा लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएका थिए । उनीविरुद्ध २२ मत परेको थियो भने १५ जनाले समर्थन गरेका थिए ।
बुधबार संसदीय दलको निर्वाचनमा समेत पराजय व्यहोरेपछि लामाको मुख्यमन्त्री पद धरापमा परेको छ ।
































































