काठमाडौँ – संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ ।


ADVERTISEMENT


वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरको मोर्चाले जनाएको छ । आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आवद्ध दलका शीर्ष नेताहरुले राज्यले मधेशी, जनजाती लगायत अन्य पछि परेका समुदायलाई उपेक्षा गरेको जनाएका थिए ।


ADVERTISEMENT

# # #


लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरुले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताए । संविधान बनाउनेहरुबाट संविधानप्रति खतरा रहेको उनको भनाइ छ । ठाकुरले मधेशी समूदायहरुले बराबरको अधिकार पाउन नसकेको भन्दै सबै मिलेर राज्यलाई दबाब दिनुपर्ने धारणा राखे ।

त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद अन्त्य नभए विद्रोह हुने बताए । उनले सुकुम्बासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानुन बनाउन खोजेको आरोप लगाए । यादवले सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिएको बताए ।

त्यस्तै राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महत्तोले देशलाई साझा नबनाइ नेपाल बन्न नसक्ने बताए । देशका सबै ठाँउमा बस्ने सवै समुदायको साझा हुने गरी देशलाई अघि बढाउनुपर्ने उनले बताए । उनले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे ।

संघीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरका साथै भाद्र २२ गते वीरगञ्जमा पुगेर जनजागरण अभियान समापन हुने जनाएको छ ।