काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले अराजनीतिक र अपराधिक तरिकाबाट सरकारकाविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बर्तौलाले सरकारबाट बाहिरिनुको छटपटीले आफुलाई म्याजिक नम्वर भन्नेहरुले सरकारका विरुद्ध अराजनीतिक र अपराधीक तरिकाबाट षडयन्त्र गरिरहेको आरोप लगाएका हुन् । उनले माओवादीले सत्ता राजनीति र दाउपेजमा दिनराज समय खर्चिरहेको समेत टिप्पणी गरे ।
त्यस्तै राजावादी समर्थक र आफुहरुलाई नयाँ वैकल्पिक भन्ने उदेश्यविहीन शक्तिहरु अहिलेको सरकारको विरुद्धमा संगठीत रुपमा नै कुप्रचारमा लागेको उनले बताए । बर्तौलाले चौतर्फी प्रहार भएपनि सरकारले एक वर्षको अवधिमा सुशासन र सेवा प्रवाह सुधारका लागि कानूनी पक्षमा धेरै महत्वपूर्ण कामहरु गर्न सफल भएको दाबी गरे
त्यस्तै उनले रास्वपा र राप्रपाका सांसदहरु संसदीय समितिमा सहभागी हुने तर संसद बहिष्कार गर्ने नाटकको कुनै अर्थ नभएको बताए । त्यसैगरी उनले रवि लामिछानेले बिगो स्वीकार गरेर जमानतमा छुट्न पाउँ भन्दै अदालतमा निवेदन दिएकाले घुमाउरो तरिकाबाट अपराध स्वीकार गरिसकेको जिकिर गरे ।
उनले संसदमा रास्वपा सांसदहरुले गालीगलौजको भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाए । अहिले गरेको विरोध सहि लागे पनि पछि यही कार्यशैलिका कारण रास्वपाको अस्तित्व खतरामा पर्ने उनको भनाइ छ ।


























































