काठमाडौं– बुधबार नेप्से परिसूचकमा उच्च अंकले सुधार आएको छ । कारोबार हुने साताको चौथौ दिन आज नेप्से परिसूचक ५३. ०१ अंकले बढेर २ हजार ८ सय १९.१० को विन्दुमा रोकिएको हो । यो १.९१ प्रतिशतको सुधार हो ।
आज ३ सय २१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४ सय ४१ को कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ १.३८, विकास बैंक ३.४०, वित्त १.९८, होटल तथा पर्यटन १.६६, जलविद्युत् १.८५, लगानी २.१९ र जीवन बिमा समूह २.२१ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन २.६९, लघुवित्त १.०९, म्युचुअल फण्ड ०.४७, निर्जीवन बिमा १. ६८, व्यापार २.६८ र अन्य समूह २.१४ प्रतिशतले बढेको छ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी केबिएल डिबेञ्चर–२०८६ को शेयर मूल्य ५.७९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । आज कम्पनीको ६५ करोड ४२ लाख ७४ हजार २ सय ५५ बराबरको शेयर किनबेच भएको छ ।
त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा ग्रीन भेन्चर लिमिटेडको ८ लाख ४६ हजार ६ सय २३ कित्ता शेयर किनबेच भएको छ ।























































