काठमाडौं– नेपालमा एकैदिन ५ हजार ४७ पिन्ट रगत संकलन गरिएको छ। ब्रह्माकुमारीज संस्थाको पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रगत संकलन गरिएको हो । यो संख्यासहित नेपालमा हालसम्मकै एकैदिनको रक्तदानको उच्चतम कीर्तिमान बनेको छ।
एक सय घण्टामा एक लाख पिन्ट रगत संकलन गर्ने उद्देश्यसहित प्रारम्भ गरिएको यो अन्तर्राष्ट्रिय रक्तदान अभियान ब्रह्माकुमारीजका नेपाल–भारतभरका शाखाहरूको समन्वयमा तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको सहकार्यमा सम्पन्न भएको हो।
पहिलो दिनमै उच्च संकलन
भदौ ६ गतेदेखि सुरु भएको अभियानको पहिलो दिनमै काठमाडौं, विराटनगर, नारायणगढ, नेपालगञ्ज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौंडा, जनकपुर, भैरहवा र राजविराजलगायत स्थानबाट कुल ५,०४७ पिन्ट रगत संकलन भएको छ।
काठमाडौंः १,७४५ पिन्ट
विराटनगरः १,३०२ पिन्ट
नारायणगढः ८१२ पिन्ट
नेपालगञ्जः २५६ पिन्ट
वीरगञ्जः २२० पिन्ट
पोखराः १४९ पिन्ट
दाङः १३७ पिन्ट
बुटवलः १२१ पिन्ट
हेटौंडाः ११३ पिन्ट
जनकपुरः १०० पिन्ट
भैरहवाः ६७ पिन्ट
राजविराजः २५ पिन्ट
चार दिनमा ११ हजार ९१६ पिन्ट
भदौ ६ देखि ९ गतेसम्म सञ्चालन गरिएको यो अभियानले चार दिनमा नेपालभरबाट कुल ११ हजार ९१६ पिन्ट रगत संकलन गर्न सफल भएको छ।
यो रक्तदान अभियान भारतसहित अन्य देशहरूमा समेत एकसाथ सञ्चालनमा रहेको छ। अभियानको उद्देश्य गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउनुका साथै सामाजिक सद्भाव, मानव सेवा र विश्व बन्धुत्वलाई प्रवर्द्धन गर्नु हो।
ऐतिहासिक पहल
सामाजिक उत्तरदायित्वको भावनासहित सुरु गरिएको यो अभियानलाई मानव कल्याणको क्षेत्रमा एक ऐतिहासिक कदमको रूपमा लिइएको छ। ब्रह्माकुमारीज संस्थाले भविष्यमा पनि यस्ता सेवा कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।































































