काठमाडौं– चितवनको भरतपुर महानगरपालिका–२८ स्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु भएको व्यक्ति ६२ वर्षीय खिम बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनी सोही वनको नजिकैको बासिन्दा हुन् र घाँस काट्नका लागि बिहिबार बिहान वनमा गएका थिए।
वन कार्यालयबाट झन्डै १ सय मिटरभित्र गएका बेला गैँडाले आक्रमण गरेको प्रारम्भिक जानकारीमा उल्लेख छ। घटनास्थल इलाका प्रहरी कार्यालय दिव्यनगरबाट करिब ८ किलोमिटर पश्चिमतर्फ पर्छ।
शवको पोष्टमार्टमका लागि घटनापछि अपराह्न करिब ५ः१८ बजे सरकारी अस्पताल भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
वन क्षेत्रमा सधैंजसो बन्यजन्तुको आवत–जावत हुने भएकाले स्थानीयलाई सचेत रहन सुरक्षा निकायले आग्रह गरेको छ।



























































