काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कामकारबाहीप्रति गम्भीर असन्तुष्टि जनाउँदै त्यसले देशभर अन्योल, अविश्वास र शंका उत्पन्न गरेको बताएका छन्।
समाजवादी प्रेस सङ्गठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशलाई सही दिशामा अघि बढाउने जिम्मेवारी पाएका शासकहरूको कार्यशैलीले नागरिकलाई आश्वस्त पार्न नसकेको बताएका छन्। सरकारका गतिविधिले जनतामा निराशा र आशंका बढाइरहेको भन्दै उनले जिम्मेवार राजनीतिक शक्तिहरू मौन बस्न नहुने धारणा राखेका छन्।
नेपालले अहिलेको परिस्थितिमा लोकतन्त्र, संविधान र गणतन्त्रमाथि योजनाबद्ध रूपमा प्रहार गर्ने प्रयास भइरहेको दाबी गरेका छन्। यस्तो अवस्था रोक्न र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न सबै परिवर्तनकारी शक्तिहरूबीच सहकार्य, संवाद र साझा पहल आवश्यक रहेको उनले बताएका छन्।
उनले जनतामा देखिएको अन्योल हटाउने जिम्मेवारी सरकारकै भएको उल्लेख गर्दै राज्य सञ्चालन पारदर्शी, उत्तरदायी र संविधानसम्मत हुनुपर्नेमा जोड दिएका छन्। सरकारले आफ्ना गतिविधिबारे स्पष्ट जवाफ दिन नसके लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वास कमजोर हुने उनको चेतावनी छ।
सह–संयोजक नेपालले संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि लोकतन्त्र, गणतन्त्र र संविधानप्रति प्रतिबद्ध राजनीतिक शक्तिहरूबीच साझा मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो। वरिष्ठ पत्रकार गोपाल गुरागाईंलाई ‘प्रदीप नेपाल पत्रकारिता पुरस्कार’ र फोटो पत्रकार नरेश श्रेष्ठलाई ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’ प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरिएको छ।



























































