काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अग्रज नेताहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिएर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।


ADVERTISEMENT


बिहीबार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीलाई प्रविधिमैत्री, आधुनिक सोच र नयाँ पुस्ताको भावनाअनुसार अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जा संयोजन गर्दै कांग्रेसलाई सुदृढ बनाइने बताएका छन् ।


ADVERTISEMENT

# # #


थापाले बीपी स्मृति दिवसका नाममा संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा भएको आलोचनाप्रति कटाक्ष गर्दै त्यस्ता कार्यक्रमलाई आफूले महत्व नदिएको उल्लेख गरे।

उनले वर्तमान सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई कालो चस्मा र कालो वस्त्र लगाउने छुट भए पनि ‘कालो कर्तुत’ गर्ने छुट नभएको टिप्पणी गरे। संवैधानिक निकायलाई दबाबमा राख्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको सचिवालयको छायाँ बनाउने प्रयास भएको दाबी गरे।

सरकार संविधानको मर्मविपरीत अघि बढ्न खोजेको आरोप लगाउँदै थापाले राहदानी प्रकरणपछि सरकारमाथि गम्भीर प्रश्न उठेको बताए। संसद् खुल्नेबित्तिकै उक्त विषयमा कांग्रेसले सशक्त रूपमा आवाज उठाउने उनको भनाइ थियो।

यसैबीच, सभापति थापाले विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारेर आगामी भदौ २४ गते ‘एनसी फर एनसी’ अभियान सुरु गर्ने घोषणा गरे। साथै, स्वास्थ्य उपचारमा रहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने जानकारी पनि दिए।