काठमाडौं–मयूर यातायात प्रालिलाई बनेपासम्म रुट इजाजत दिएको विरोधमा यातायात व्यवसायी संघ–समितिहरुले भक्तपुर र काभ्रेका ग्रामीण भेगमा जाने चल्ने सार्वजनिक सवारी ठप्प पारेका छन् । समितिहरुको एकाधिकार सकिने गरी ठूला बस चलाउन सुरु गरेको मयुर बसको रुट अनुमति खारेज गर्न माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तरगतका १३ वटा संघ तथा समितिले आन्दोलन घोषणा गरेका छन् ।


ADVERTISEMENT


आइतबारबाट काभ्रे र भक्तपुरका ग्रामीण क्षेत्रमा जाने गाडी रोकेका व्यवसायीले भोलि कोटेश्वरमा पूर्वततर्फ जाने सवारी एक घण्टा अवरुद्ध पार्नेछन् । विहान ९ बजेदेखि १० बजेसम्म उनीहरुले चक्काजामको कार्यक्रम राखेका छन् । आज बनेपा, धुलिखेल र पनौतीसम्म जाने सवारी मात्रै चलेका छन् । भक्तपुरका सबै ग्रामीण क्षत्रेमा जाने सवारी पनि बन्द भएका छन् ।


ADVERTISEMENT

# # #


यसका कारण यात्रुहरुले सास्ती ब्यहोर्नुपरेको छ । मयूरका ठूला बस चलेपछि आफ्ना सवारीमा यात्रु चढ्न छाडेको आक्रोशमा व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । आफ्नो मागको सुनुवाई नभए २१ गतेबाट उनीहरुले कोटेश्वरबाट अरनिको राजमार्ग भएर चल्ने सबै सार्वजनिक सवारी पनि रोकेर हड्तालमा उत्रिने घोषणा गरेका छन् ।

आफ्नो सिन्डिकेट तोडिने भएपछि मयुरविरुद्ध भक्तपुर, काभ्रे र अरनिको राजमार्गमा बस साना र पुराना बस चलाइरहेका व्यवसायीहरु आन्दोलित बनेका हुन् । ब्यवयीहरुले मयुरलाई चिल्ला सडकमा मात्रै प्रतिस्पर्धा गर्न आएको आरोप लगाएका छन् । तर, शनिबार पत्रकार सम्मेलन गर्दै मयूर यातायात प्रालिले सय वटा बस आउँदै गरेको र सरकारले अनुमति तथा सुरक्षा दिए ग्रामीण रुटमा पनि सेवा थाल्ने जनाएको छ ।

मयूरमा २४ वटा बसले रिंगरोड घुमेर बनेपासम्म सेवा दिइरहेका छन् । चल्न सुरु भएको २० दिनभित्र मयूरका १० वटा बसमा तोडफोड भइसकेको छ । सरकारले सिन्डिकेट तोड्ने भनेपनि समितिहरुको वैधानिकता बाँकी नै छ । जिल्ला प्रशासन कार्यालयहरुमा संस्था दर्ता ऐन अन्तरगत दर्ता हुने समितिहरुको नवीकरण रोकर सबै व्यवसायीलाई पब्लिक कम्पनीमार्फत सेवा दिनका लागि सरकारले बाध्यात्मक अवस्था सिर्जना गर्न सकेको छैन ।

त्यसैका कारण कर तिर्ने गरी आएका मयूर जस्ता कम्पनीहरुले चाहेको रुटमा इजाजत लिएर पनि बस चलाउन नसक्ने अवस्था कायम छ ।