काठमाडौं– चन्द्रागिरि नगरपालिका वडा नम्बर १ बाल श्रममुक्त वडा घोषणा भएकै दिन सोही वडाको एक विद्यालयका छात्रामाथी कुटपिट भएको छ ।
वडा नम्बर १ मा रहेको दहचोक कालापानीस्थित सामुदायिक विद्यालय श्रीकृष्ण माविमा अध्ययनरत एक छात्रालाई शिक्षकले कुटपिट गरेका हुन् । कुटपिटबाट कक्षा १० मा अध्ययरत संगीता (नाम परिवर्तन)को शरीरका विभिन्न भाग निलाम्य डाम देखिएको छ ।
पीडित संगीताका भाईका अनुसार शिक्षक गणेश श्रेष्ठले दिदीमाथी कुटपिट गरेको र आफुमाथी पनि पहिले कुटपिट गरेको र अन्य विद्यार्थीलाई पनि कुट्ने गरेको बताए ।
शिक्षक गणेश श्रेष्ठले भने आफुले सामान्य रुपमा हिर्काएको तर घाइते नै हुने गरी भने नकुटको बताए ।
यता विद्यालयका प्रधानाध्यापक खड्ग बहादुर श्रेष्ठले विद्यार्थीलाई अनुशासन सिकाउने विषयमा यस्ता घटनालाई सामान्य रुपमा लिई ठूलो बनाउन नहुने बताए । प्रधानाध्यापक श्रेष्ठले मंगलबार पीडित पक्ष र पीडक पक्ष दुबै राखि सत्यतथ्य बाहिर ल्याउने बताए ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिश्याम रानामगरले विद्यार्थीमाथी भएको कुटपिटलाई आफुले गम्भीर रुपमा लिएको बताए ।



























































