काठमाडौँ – नेपाली सेनाले जेन–जी पुस्ताको आन्दोलन र त्यसले सिर्जना गरेको अवस्थाका बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै सेनाले नेपालमा हाल भइरहेको ‘जेनजी’ आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेको जनाएको छ ।
साथै आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति दुःख समेत प्रकट गरेको छ । यस्तै सेनाले आन्दोलनरत पक्षलाई संयमित बन्न आग्रह गर्दै परिस्थितिलाई थप जटिल हुन नदिन समेत आग्रह गरेको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।
‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’
विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व रहेको सेनाले जनाएको छ ।




























































