काठमाडौं– भन्सार छलि तथा अवैध रुपमा भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याइएका विभिन्न सामग्रीहरु कपिलवस्तु जिल्लाको विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
असोज ८ गते दिउँसो करिब १२ः१५ बजे इलाका प्रहरी कार्यालय, कृष्णनगरबाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका–२, झण्डेनगरमा भारतबाट भन्सार छली गरी ल्याइएको ३ लाख १८ हजार ७५० बराबरको ४४ बोरा किबी फलफूल वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो। बरामद सामग्री आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसै दिन राति १०ः३० बजे तौलिहवा–पकडी सडकखण्डमा सुठौली भन्सार कार्यालयबाट बुटवलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मिनि ट्रकमा चेकजाँच गर्दा अनार, स्याउ, खरबुजा र नरिवलको प्रज्ञापनपत्र भए पनि ३०० के.जी. सुन्तलाको १९ हजा २०० बराबरको बिल प्रस्तुत गर्न नसकिएको पाइएको छ। कुल ४ लाख ४१ हजार ६८० बराबरको भन्सार छलिएको देखिएपछि ट्रकसहित चालक भारत उत्तर प्रदेश निवासी ४० वर्षीय दिल साहलाई नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालय, बुटवलमा बुझाइएको छ।
त्यसैगरी सोही दिन साँझ ७ बजे बुद्धभूमि नगरपालिका–९, गबदहवा खोलाबाट लु ४ त २२९९ नम्बरको ट्रयाक्टरले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी चोरी पैठारी गर्दै गरेको अवस्थामा फेला पारिएको छ।
मायादेवी गाउँपालिका–४, चाकरचौडाबाट भारतबाट भन्सार छलि गरी ल्याइएको १७५ पिस मन्दिर आकारका काठका बाकसहरु बरामद गरिएको छ। ती सामानको अनुमानित मूल्य ३५ हजार रहेको जनाइएको छ। बरामद सामग्री सुठौली भन्सार कार्यालयमा बुझाइएको छ।
महाराजगञ्ज नगरपालिका–१०, हर्दौना स्थित भारतबाट चोरी निकासी गरी ल्याई वेवारिसे अवस्थामा रहेका ९० जहार ४२० बराबरका जुत्ता, चप्पल, चिनी, खाने तेल लगायतका सामग्री र ३२ हजार बराबरको १६ वटा टायल समेत फेला पारिएको छ। सम्पूर्ण सामग्री सुठौली भन्सार कार्यालयमा बुझाइएको छ।



























































