काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।


ADVERTISEMENT


उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो ।


ADVERTISEMENT

# # #


समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो । नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यमले फूलपाती बढाइँको प्रत्यक्ष प्रसारण गरेका थिए । रासस