काठमाडौं – असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म मनसुन सक्रिय हुँदा कोसी, मधेस र वाग्मती प्रदेशमा अति भारी वर्षा मापन गरिएको छ । बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, असोज १८ गते बिहान ४:३० बजेदेखि असोज १९ गते बिहान ४:३० बजेसम्मको २४ घण्टामा सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुरमा ३५८ मिलिमिटर मापन गरिएको छ ।
असोज १९ गते बिहान ८:४५ बजेसम्मको २४ घण्टाको मापन विवरण अनुसार, देशभरका १८६ वटा केन्द्रमा वर्षा भएको विभागले जनाएको छ । जसमध्ये १०५ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । ६८ वटा केन्द्रमा १०० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । यस्तै, २१ वटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र पाँच केन्द्रमा ३०० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ ।
विभागका अनुसार, ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएका केन्द्रमा इलामको हिमाली गाउँ (३३२.६ मिलिमिटर) र कन्याम टी स्टेट (३१४.२ मिलिमिटर), पर्साको मुडली (३२८.६ मिलिमिटर), रौतहटको महेशपुर (३२८.० मिलिमिटर) र गौर (३१५.० मिलिमिटर) छन् ।
अविरल वर्षाका कारण असोज १८ गते अपराह्नबाट वाग्मती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमलालगायत नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको थियो । ती नदीहरूको जलसतह हाल घट्दो क्रममा छ ।
विभागका अनुसार, आज (असोज १९ गते) भने सप्तकोसी नदीले खतराको तह पार गरेको छ । यसैगरी, सप्तकोसीका सहायक नदीहरू तमोर, सुनकोसी र अरूण नदीहरूमा समेत जलसतहले खतरा तह पार गरी हाल घट्दो क्रममा रहेको छ । कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङलगायत चुरे महाभारत उद्गम भई बहने नदीहरूमा पनि खतरा तह पार गरी हाल घट्दो क्रममा छ ।




























































