काठमाडौं– देशमा परिवर्तनका लागि युवाहरुद्वारा गरिएको जेन्जी विद्रोहका मागहरू लामो समयदेखि बेवास्ता हुँदै आएकाले, ती मागहरूको स्मरण र युवाको बलिदानलाई सम्मान दिलाउने उद्देश्यका साथ जेन्जी मुभमेन्टले असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ।
यस सम्बन्धमा जेन्जी मुभमेन्टका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाउँदै प्रदर्शनका लागि अनुमति र आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।
निवेदनमा भनिएको छ, “हामी युवा पुस्ताको तर्फबाट जेन्जी विद्रोहका क्रममा उठेका मागहरूलाई स्मरण गराउँदै, युवाको बलिदान खेर नजाओस् र उनीहरूको बलिदानलाई न्याय मिलोस् भन्ने उद्देश्यका साथ असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेका छौँ।”
मुभमेन्टले प्रदर्शन अहिंसात्मक, शान्तिपूर्ण र प्रजातान्त्रिक अभ्यासमा आधारित हुने जनाएको छ। साथै, कार्यक्रमका क्रममा सहभागीहरूको सुरक्षाको सुनिश्चितता गर्न जिल्ला प्रशासनलाई आग्रह गरिएको छ।
प्रदर्शनमा NTEK–Z समूहसँग सहकार्य रहेको पनि मुभमेन्टले जनाएको छ। निवेदनमा जेन्जी मुभमेन्टका तर्फबाट विजय शाह (अछाम) र पवन मल्ल (दाङ) का नाममा हस्ताक्षर गरिएको छ।




























































