काठमाडौं– कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से बिहीबार २२.५९ अंक बढेर २५८२.१८ विन्दुमा पुगेको छ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ४.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक बढेको छ।
नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड १८ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ३४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
त्यस्तै, यूनियन हाइड्रापावरको कारोबार रकम २७ करोड नाघेको छ । यता हिमालयन रि इन्स्योरेन्सको करिब २१ करोडको शेयर कारोबार भएको छ।
विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत बढेको छ। त्यस्तै, एशियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ । एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको थ्रिस्टा हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। आज लगानी उपसमूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशत बढेको छ।



























































