काठमाडौँ – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा लोकसेवा आयोगको पोखरा कार्यालयमा आजनी हुँदा उत्तरपस्तिका जलेपछि पुनः परीक्षा गर्नुपर्ने भएको छ ।
गत बैशाख १३–१७ गतेसम्म सुर्खेतबाट नायब सुब्बा (नासु) पदका लिखित परीक्षा दिएका उम्मेदवारका सम्पूर्ण उत्तरपुस्तिका जलेर नस्ट भएपछि बिहीबार आयोगले एक सूचना जारी गर्दै द्वित्तीय चरणको पुनः परीक्षाको मिति तोकेको हो । जस अनुसार अब पुनः परीक्षा आगामी मंसिर १ गतेदेखि हुनेछ ।
पोखरामा सुर्खेतबाट नासुको परीक्षा दिएका न्याय सेवा र प्रशासन (सामान्य प्रशासन र राजश्व समूह)का उत्तरपुस्तिका जलेका हुन् । नतिजामा स्वच्छता र पारदर्शिताका लागि नायब सुब्बाको परीक्षामा एक कार्यालयका उत्तरपुस्तिका अर्को कार्यालयमा लगेर जाँच गर्ने व्यवस्था छ ।
सोही अनुसार सुर्खेतका उत्तरपुस्तिका पोखरा ल्याइएको थियो । सुर्खेतमा नासुको द्वित्तीय चरणको परीक्षामा करिब ३ सय जना उम्मेदवारले परीक्षा दिएका थिए ।




























































