काठमाडौं– कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४४.२५ अंक बढेर २५४७.६० विन्दुमा पुगेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। आइताबार ६ अर्ब ७० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ९१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०१ प्रतिशत बढेको छ।
त्यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।



























































