काठमाडौं –पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने बिषयमा छलफल गर्न आज नेपाल र भारतका अधिकारीवीच बैठक हुँदैछ ।
काठमाडौंमा शुरु हुने नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयमा एकरुपता दिनेवारे छलफल हुनेछ ।
यो परियोजना २३ बर्षदेखि चर्चामा छ । तर, यसको काम भने अगाडि बढ्न सकेको छैन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा एकरुपता बनेको छैन् । आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच विवाद छ ।
भारतीय पक्षले तल्लो शारदा बाँधमा उपलब्ध हुने पानीको मात्रामा तलमाथि हुन नहुने मत राखेको छ । नेपालले चाहिँ बराबरीको धारमा पानी उपलब्ध हुनुपर्ने अडान राख्दै आएको छ ।
बैठकमा यी विवादित विषयमा सहमति जुटाउने प्रयास हुनेछ ।
पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले राससलाई बताएका छन् ।
नेपाल र भारतका ऊर्जा सचिवस्तरीय गभर्निङ बडी र सहसचिवस्तरीय संयुक्त कार्यदल ज्वाइन्ट कमिटीको बैठक आयोजना गरिएको हो । ती समितिको बैठकको तयारीस्वरुप आजसमेत आवश्यक छलफल भएको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिएका छन् ।
प्रमुख कार्यकारी अधिकृत गुरुङका अनुसार यो गभर्निङ बडीको छैटौँ बैठक हो भने संयुक्त कमिटीको भने चौथो बैठक हो । करीब दुई वर्षपछि गभर्निङ बडीको बैठक बस्न लागेको हो । सन् २०१६ को डिसेम्बर २२ मा त्यस्तो बैठक बसेको थियो ।
सोमबारदेखि शुरु हुन लागेको बैठकले विशेष गरी पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विशेष पहल गर्ने विश्वास लिइएको छ ।
सो आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच कुरा मिल्न नसक्दा विस्तृत परियोजना प्रतिवेदनले अन्तिम रुप पाउन सकेको छैन ।
भारतीय कम्पनी बापकोसले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक सहमति हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ गतेदेखि २५ गतेसम्म भएको भारत भ्रमणमा यसबारे छलफल भएको थिएन ।