काठमाडौँ – इतिहास रच्दै नेपाल लगातार दोस्रो पटक आईसीसी टी–२० पुरुष विश्वकपमा छनोट हुन सफल भएको छ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक क्षेत्र छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै नेपाल २ खेल अगावै विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
जारी प्रतियोगितामा ९ टोली सहभागी थिए । जसलाई तीन समूहमा विभाजन गरिएकोमा नेपाल समूह ‘बी’को विजेताका रुपमा सुपर सिक्समा पुगेको थियो । त्यसक्रममा नेपालले कुवेतलाई ५८ रनले र जापानलाई ५८ रनले हराएको थियो ।
यस्तै सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईमाथि १ रनको सनसनीपूर्ण जित निकालेको थियो भने दोस्रो खेलमा कतारविरुद्ध उस्तैगरी ५ रनले जितेको थियो । ३ खेलमा ६ अंक बटुलेको नेपालले सुपर सिक्समा ३ खेल खेल्न बाँकी नै रहेको छ । तर, बुधबार युएईले सामोआलाई ७७ रनले हराएसँगै नेपाल गणीतीय रुपमा विश्वकपमा पुगेको हो ।
नेपालले आजै प्रतियोगिताको उपाधिको दाबीका लागि ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ८ः४५ बजे सुरु हुनेछ । यस्तै नेपालसँगै ओमान पनि विश्वकपमा पुगेको छ । दुबै टोली प्रतियोगितामा अपराजित रहेकाले आज जित्ने टोली नै विश्वकप छनोटको विजेता बन्नेछ । नेपालले अन्तिम खेल सामोआसँग शुक्रबार खेल्नेछ ।
यस्तै प्रतियोगितामा नेपाल र ओमानको ३ खेलमा समान ६-६ अंक हुँदा युएईको चार अङ्क रहँदा जापान र कतारको समान दुई अङ्क छ । अब अन्तिम खेलमा युएईले जापानको सामना गर्दैछ । उक्त खेलपछि विश्वकपमा पुग्ने तेस्रो टोलीको टुङ्गो लगाउने छ ।
यसअघि गत वर्ष अमेरिका र वेष्टइण्डिजमा भएको टी–२० विश्वकप खेलेको नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने पक्का भएको हो । यो नेपालको तेस्रो विश्वकप हुनेछ । नेपालले पहिलो पटक सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।



























































