काठमाडौं– डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२ लागि कथा आह्वान गरिएको छ ।
बाह्रखरी मिडियाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान गरेको हो । प्रतियोगितामा कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले कथा पठाउन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिताको निर्णायक समूहमा नाट्यकर्मी तथा साहित्यकार अशेष मल्ल रहनुभएको छ भने सदस्यहरूमा वरिष्ठ कथाकार मञ्जु काँचुली तथा कथाकार अभय श्रेष्ठ रहनुभएको बाह्रखरी मिडियाका प्रधान सम्पादन प्रतीक प्रधानले जानकारी दिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा आन्तरिक समूहले छाट्ने काम गर्ने र आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउने जनाइएको छ ।
ती कथाहरूमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै उत्कृष्ट कथा, २०८२ पुस्तकका लागि थप २२ समेत गरी २५ कथा छानेर पठाउने प्रधानले जानकारी दिए । संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिने बताइएको छ ।



























































