काठमाडौं- नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसका अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित दही–चिउरा प्रवर्द्धन कार्यक्रममा एसोसिएसनले असार १५ को अवसरमा हुने दहीको खपतबाट करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण सार्वजनिक गरेको हो।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रलाद दाहालले असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि संस्कृति र स्वदेशी उत्पादनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्ने बताएका छन्।
उनले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै डेरी क्षेत्रको विकासका लागि निरन्तर पहल गरिरहेको बताए।
अध्यक्ष दाहालले किसानले उत्पादन गरेको दूधको उचित मूल्य, समयमै भुक्तानी तथा दुग्ध उद्योगको दिगो विकास सुनिश्चित गर्न सम्बन्धित निकायबीच थप समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाउने परम्परा रहँदै आएको छ। कृषि कर्ममा व्यस्त हुने किसानहरूले असार १५ मा खेतमा रोपाइँ गर्दै दही–चिउरा खाने परम्पराले नेपाली समाजमा विशेष सांस्कृतिक महत्व बोकेको छ।
एसोसिएसनका अनुसार यस वर्ष पनि असार १५ को अवसरमा दहीको माग उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ, जसले दुग्ध व्यवसायी र किसान दुवैलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।



























































