काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम सिफारिस गरेको तर सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस भने नगरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको भन्दै प्रचण्ड गरेको टिप्पणी झुठ बाहेक केही नभएको उनले बताए । उनले सुशीला कार्कीलाई प्रधानमन्त्रीका लागि सिफारिस गरेको प्रमाण देखाउन प्रचण्डलाई चुनौती दिए ।

उनले भने, ‘यो अन्तरिम सरकार संविधान अन्तर्गत बनेको होइन, एउटा हल्ला छ, तर, मेरो सिफारिसको भाषा के छ भने–वर्तमान असाधारण र असहज उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपार्टी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपपर्ने अवश्यकता भएकाले र यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रक्रियाभित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु । यसमा सुशीला कार्की सुन्नुभो कतै ? मैँले लेखेको यति हो । ’

यस्तै अध्यक्ष ओलीले भदौ २३ को घटनामा गोली चलाउने आदेश आफूले नदिएको र त्यो आदेश दिने अधिकार प्रधानमन्त्रीको नभएको बताए । आफूले दिँदै नदिएको आदेशको जिम्मा लिन नसक्ने ओलीले स्पष्ट पारे । जेनजी आन्दोलनका नाममा आपराधिक क्रियाकलाप भएको बताउँदै उनले त्यसका विरुद्ध पत्रकारहरू समेत बोल्न नसकेको जिकिर गरे ।

संसद् स्थापना बाहेक अरू कुनै विकल्प नरहेको बताउँदै ओलीले त्यो विषयको सम्पादकहरूले पनि समर्थन गर्नुपर्ने बताए । निर्वाचनबाट छानिने कुरा आफूलाई प्यारो भए पनि अपराधी र बन्दुक बाहिर राखेर चुनाव हुन नसक्ने ओलीको भनाइ छ । एमालेले चुनाव बहिष्कार गर्न खोजेको नभई यो सरकारले चुनाव नै गराउन नसक्ने उनले दाबी गरे ।

ओलीले जेनजीको माग अनुसार भ्रष्टाचारको छानबिन गर्न माग गरे । त्यस्तै उनले भ्रष्टाचार र असोज २३, २४ को घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य पत्ता लगाउने आग्रह गरे । ओलीले आफूले जेनजीसँग छलफल गरेको बताउँदै उनीहरूले आफ्ना आन्दोलन हाइज्याक भएको गुनासो गरेको उल्लेख गरे ।