काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पु¥याउन सक्छ भन्नेतर्फ पनि सबैको ध्यान जान जरुरी रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार शितल निवासमा चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पु¥याउन सक्ने भन्दै सबैले त्यस तर्फ सोच्नुपर्ने बताएका हुन्।


ADVERTISEMENT

# # #


यसै समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान ले पुरस्कृत गरिएको छ भने ३ लाख ७५ हज़ार नगदसहित श्रेष्ठलाई सम्मान गरिएको हो ।

नवीन चौहान निर्देशित ऊनको स्वीटरले ३ विधामा पुरस्कार जितेको छ । ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक नवीन चौहान पाएका छन् । फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् ।।

रमिताको पिरतीबाट आना शर्मा र झरी पछिको इन्द्रेणीबाट बिमोचन दवाडीले जूरी प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ ।

यो सम्मान पाउनेमा प्रदर्शक विष्णु गोपाल श्रेष्ठ,  प्रदर्शक डाक्टर सिंह गुरुङ, अभिनेत्री मेनुका प्रधान, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा र सञ्चारकर्मी प्रकाश सुवेदी रहेका छन् ।

त्यसैगरी अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे र पत्रकार दिनेश सिटौला( मरणोपरान्त) ले पनि विशेष योगदान सम्मान पाएका छन् ।

राष्ट्रपति पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई रत्तिभर नछोड्न चलचित्रकर्मीलाई सुझाव दिएका छन् ।

उनले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रुपान्तरण, चेतना, राष्ट्रप्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताए। राष्ट्रपति पौडेलले अहिलेको बदलिँदो परिवेश अनुरुपको नीति, कानुन, सुविधा र सहुलियतसहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाईँ दिन कुनै कसर बाँकी राख्न नहुने धारणा राखेका छन्।

कार्यक्रममा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ भने कला क्षेत्रमा सक्रिय बिभिन्न व्यक्तिहरुलाई विशेष चलचित्र पुरस्कार प्रदान गरिएको छ ।