काठमाडौँ – हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने ‘हङकङ सिक्सेस’ प्रतियोगितामा मा नेपालले भाग लिने भएको छ । आगामी नोभेम्बर ७ देखि ९ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले शरद् भेषावकरको कप्तानीमा आज सात सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
क्यानले कप्तान शरद्सँगै सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल अन्सारी, रशिद खान र रुपेश सिंह छन् । प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहने छ । चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह‘ए’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।
त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन् । यस प्रतियोगिताको हरेक खेल समान छ÷छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ ।
शरदले सन्यास लिने
‘हङकङ सिक्सेस’पछि नेपाली राष्ट्रिय क्रिकेटर शरद् भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । शरदले सन्यास लिने भएपछि उनलाई कप्तानी जिम्मेवारी दिएर सम्मान दिइएको हो ।
३७ वर्षीय शरदले सन् २००४ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेका थिए । २१ वर्ष नेपाली क्रिकेटमा सेवा गरेका हार्डहिटर शरदले सन् २०१३ मा नेपाललाई सन् २०१४ को टी–२० विश्वकपमा पुर्याउने शानदार ब्याटिङ गरेका थिए । यस्तै सन् २०१८ मा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।
उनले हालसम्म ३९ वटा लिस्ट ए खेलमा ८ अर्धशतकको मदतमा १०३७ रन बनाएका छन् भने १० विकेट लिएका छन् । यस्तै २० वटा टी–२० अन्तर्राष्ट्रियमा ३२५ रन बनाएका छन् ।



























































