भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन् ।
एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका हुन् ।
हालै भएको तीन दिन लामो केन्द्रीय कमिटी बैठकमा पार्टीका बारेमा सविस्तार छलफल गरिएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले नेतृत्वमाथि प्रश्न उठाइएपछि ती प्रश्नको निरुपण गर्न महाधिवशनको मिति निर्धारण गरिएको बताए ।
उनले भने, “बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अनुत्तरित हुन सकिँदैन, पार्टीकोे सार्वभौमसत्ता पार्टीका कार्यकर्ताहमा निहित हुने भएकाले त्यही जाऔँ भन्ने कुरा भयो । अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, कस्तो नीति बनाउ भन्छ त्यही फैसलाअनुसार अगाडि बढ्छौँ ।”
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य महेश बस्नेत, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, एमाले जिल्ला उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालगायतले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका थिए ।


























































