हेटौंडा- बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ तथा स्वास्थ्यमन्त्री किरण थापा मगर ले हेटौंडा अस्पतालमा सञ्चालित नयाँ आईसियु, मोडुलर ओटी लगायत अन्य शल्यक्रिया कक्षका नयाँ संरचना, तयारी अवस्थामा रहेको एनआईसियु, पिआईसियु तथा नयाँ स्थानबाट थप सेवासहित विस्तार गरिएको डायलाइसिस सेवाको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले अस्पतालमा थप गरिएका पूर्वाधार र सेवाले प्रदेशवासीलाई सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।उनले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गरी नागरिकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
स्वास्थ्यमन्त्री थापा मगरले अस्पतालमा थपिएका नयाँ सेवा तथा अत्याधुनिक संरचनाले बिरामीको उपचारमा सकारात्मक प्रभाव पार्ने बताउँदै सेवा प्रवाहलाई अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका छन्।
हेटौंडा अस्पतालले नयाँ आईसियु, मोडुलर ओटी, एनआईसियु, पिआईसियु तथा डायलाइसिस सेवा विस्तारसँगै प्रदेशस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा आफ्नो क्षमता थप मजबुत बनाउँदै लगेको जनाएको छ। निरीक्षणका क्रममा अस्पताल व्यवस्थापन पक्षसँग सेवा विस्तार, जनशक्ति व्यवस्थापन तथा आगामी योजनाबारे समेत छलफल भएको छ।


























































