काठमाडौँ-  एभरेष्ट बैंक लिमिटेड (EBL) ले नेपाल–भारतबीच रियल–टाइम पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। बैंकको मोबाइल बैंकिङ एप ‘EBL Touch 24’ मार्फत उपलब्ध गराइएको यस सेवाले नेपाल र भारतका नागरिकलाई छिटो, सरल तथा सुरक्षित रूपमा रकम आदानप्रदान गर्न सहज बनाउने विश्वास गरिएको छ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



नयाँ डिजिटल सेवाअन्तर्गत नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारतीय रुपैयाँ १५ हजार तथा मासिक १ लाख रुपैयाँसम्म भारत पठाउन सक्नेछन्। त्यसैगरी, भारतमा रहेका नेपाली तथा भारतीय नागरिकहरूले दैनिक २ लाख भारतीय रुपैयाँसम्म नेपालमा विप्रेषण पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

सेवाग्राहीहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्। भारतका प्रयोगकर्ताले युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) मार्फत प्रत्यक्ष रूपमा रकम प्राप्त गर्न सक्ने सुविधा पनि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार यो सेवा नेपाल–भारतबीचको सीमापार रकम स्थानान्तरणलाई अझ प्रभावकारी, सुरक्षित र प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण कदम हो। यस सम्बन्धी थप जानकारी एभरेष्ट बैंकको आधिकारिक वेबसाइट तथा नजिकको शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।