काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।
बैठकले पार्टी एकतासम्बन्धी विशेष निर्णय र अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको बताए । उनले पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक ऐतिहासिक बनेको जिकिर गरे ।
उनले भने, ‘बडो हार्दिकताका साथ, सौहार्दपूर्ण वातावरणमा अत्यन्त लोकतान्त्रिक छलफलपछि निष्कर्षमा पुगेर सफलताका साथ यो बैठक सम्पन्न भएको छ । यस अर्थमा हाम्रो पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक वास्तवमा ऐतिहासिक बैठकका रुपमा स्थापित भएको छ ।’
घर फर्किन ओलीको अपिल
एकीकृत समाजवादीले माओवादीसँग एकताको निर्णय गरिरहँदा यता नेकपा एमादेका अध्यक्ष केपी शर्माओलीले भने समाजवादीका नेतालाई लक्षित गर्दै घर फर्किन अपिल गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ओलीले विगतमा एमाले निर्माणमा लागेर अहिले जहाँसुकै भए पनि घर सम्झेर फर्किन आह्वान गरेका हुन् ।
उनले भनेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु — जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।’
उनले राष्ट्र अप्ठ्यारो अवस्थामा पुगेको, लोकतन्त्र र संविधानमाथि आक्रमण भइरहेको अवस्थामा काँधमा काँध मिलाएर राष्ट्र निर्माणमा लाग्ने गरी फर्किन भनेका हुन् । उनले थपेका छन्, ‘कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा — हाम्रो साझा सपना साकार पार्न ।’
पार्टी एकतालाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीभित्र विवाद रहेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, रामकुमारी झाँक्री लगायतले माओवादीसँग पार्टी एकता गर्न नहुने र आफूहरु त्यस निर्णयको विरुद्ध उभिने बताउँदै आएका छन् ।



























































